तीन सिंहको सामुन्ने आलियालाई विवाह प्रस्ताव, रणवीरले सुनाए रोचक अनुभव

1 घन्टा पहिले प्रकाशित

एजेन्सी, कार्तिक १३ गते । बलिउड अभिनेता रणवीर कपूरले अभिनेत्री आलिया भट्टलाई विवाहको प्रस्ताव राख्दाको अनौठो र रोचक प्रसंग सार्वजनिक गरेका छन्। केन्या भ्रमणका क्रममा जंगलमा करिब सय फिटको दूरीमा तीन सिंह रहेका बेला आफूले आलियासमक्ष विवाहको प्रस्ताव राखेको उनले बताएका हुन्। आगामी चलचित्र ‘रामायण’को प्रचारका क्रममा टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति १८’ मा अमिताभ बच्चनसँग कुराकानी गर्दै रणवीरले उक्त अनुभव सुनाएका हुन्। उनले प्रस्ताव राख्नुअघि नै योजना बनाएर गाइड र चालकलाई जंगलको उपयुक्त स्थानमा गाडी रोक्न भनेका थिए। त्यसबेला उनीसँग विवाहको औंठीसमेत थियो।

आलियालाई घुँडा टेकेर प्रस्ताव राख्दा उक्त क्षणको तस्बिर खिच्न पनि उनले गाइड र चालकलाई आग्रह गरेका थिए। तर नजिकै तीन सिंह देखिएपछि त्यो रोमान्टिक क्षण थप रोमाञ्चक बनेको रणवीरले बताए। उनले रमाइलो शैलीमा भने, ‘एकातिर तीन सिंह थिए, मेरा अगाडि मेरी सिंहनी थिइन्। मचाहिँ मुसाजस्तै बनेर घुँडा टेकी उनलाई मसँग विवाह गर्छौ भनेर सोधिरहेको थिएँ।’ रणवीरले उक्त क्षणलाई आफ्नो जीवनकै अविस्मरणीय अनुभवमध्ये एक बताएका छन्। रणवीर र आलियाले सन् २०२२ अप्रिलमा विवाह गरेका थिए। उनीहरूकी एक छोरी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?