मुख्यमन्त्री उत्पादनको कारखाना बन्यो मधेस, फेरि सत्ता फेरबदलको संकेत
10 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, कार्तिक १२ गते । मधेस प्रदेशको दोस्रो कार्यकाल पटकपटक मुख्यमन्त्री फेरिने र सत्ता समीकरण बदलिने शृङ्खलाले चर्चामा छ। २०७९ पुस २३ गते सरोजकुमार यादवले मुख्यमन्त्रीको शपथ लिएयता प्रदेशले पाँच मुख्यमन्त्री पाइसकेको छ। अहिले नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकार पनि संकटमा परेको छ। सत्ता साझेदार एमालेले १५ बुँदे सहमति कार्यान्वयन नभएको आरोप लगाउँदै समर्थन फिर्ता लिएपछि सरकारको भविष्य अनिश्चित बनेको हो। बजेट विनियोजन, विकास निर्माण, मन्त्रालयको संख्या र आर्थिक सुशासनजस्ता विषयमा सहमति कार्यान्वयनबारे दलहरूबीच आरोप–प्रत्यारोप चलिरहेको छ।
एमालेले जसपा नेपाल र जनमत पार्टीसँग नयाँ सत्ता समीकरणका लागि छलफल अघि बढाएको छ भने मुख्यमन्त्री यादव विश्वासको मत जुटाउने प्रयासमा छन्। प्रदेश सभामा हाल कायम १०२ सदस्यमध्ये सरकारलाई बहुमतका लागि कम्तीमा ५२ सांसदको समर्थन आवश्यक छ। पटकपटक नेतृत्व परिवर्तन र गठबन्धन फेरबदलले मधेस प्रदेशलाई ‘मुख्यमन्त्री उत्पादनको कारखाना’ भन्ने आलोचनाको केन्द्रमा पुर्याएको छ। अब वर्तमान सरकारले निरन्तरता पाउँछ वा फेरि नयाँ मुख्यमन्त्री चयन हुन्छ भन्ने विषय दलहरूबीचको आगामी छलफल र प्रदेश सभाको अंकगणितमा निर्भर हुनेछ।
कमेन्ट गर्नुहोस्
view comments