१७ वर्षीया सुत्केरीको मृत्यु, नवजात शिशुको पनि ज्यान गयो

3 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भाद्र २८ गते । बाँकेको कोहलपुर नगरपालिका–१३ भरैयामा १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु भएको छ। अङ्कबहादुर पुन मगरकी पत्नी लालमती पुन मगरले शनिबार बिहान घरमै पहिलो सन्तान जन्माएकी थिइन्। जन्मनेबित्तिकै नवजात शिशुको पनि मृत्यु भएको थियो। अत्यधिक रक्तस्राव भएपछि गम्भीर अवस्थामा अस्पताल लगिएकी लालमतीलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले बिहान ७ः१० बजे मृत घोषणा गरेको वडासदस्य बलबहादुर घर्तीले जानकारी दिनुभयो।

कोहलपुर–१३ लाई २०७७ सालमा बालविवाहमुक्त वडा घोषणा गरिएको थियो। तर, लालमतीको परिवार गत वर्ष सल्यानबाट बसाइँसराइ गरेर कोहलपुर आएको र उनको विवाह उतै भएको वडासदस्य घर्तीले बताउनुभयो। २० वर्षभन्दा कम उमेरमा विवाह तथा गर्भधारण स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण मानिने भए पनि लुकिछिपी र भागी विवाहका घटना अझै हुने गरेको उहाँको भनाइ छ। बालविवाहमुक्त घोषणा भएको वडामै कम उमेरकी किशोरीको सुत्केरीका क्रममा मृत्यु र नवजात शिशुको समेत ज्यान गएपछि उक्त घोषणा कार्यान्वयनको अवस्थामाथि गम्भीर प्रश्न उठेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?