प्रहरीको नाममा रकम असुलेको आरोपमा वडाध्यक्षका प्रत्याशी पक्राउ

3 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भाद्र २८ गते । रौतहटको गरुडा नगरपालिका–९ श्रीपुरमा प्रहरीको नाम र पहुँचको दुरुपयोग गरी थुनुवालाई छुटाइदिने भन्दै एक लाख रुपैयाँ असुलेको आरोपमा वडाध्यक्ष पदका प्रत्याशी शेख हुस्नैन पक्राउ परेका छन्। केही दिनअघि झगडाका क्रममा प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा रामजन मियाँ पक्राउ परेपछि हुस्नैनले उनकी श्रीमतीसँग प्रहरीसँग कुरा गरी मुद्दा मिलाइदिने र रामजनलाई छुटाइदिने भन्दै रकम लिएको प्रहरीको भनाइ छ। रकम बुझाएपछि पनि रामजन नछुटेपछि उनकी श्रीमतीले इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएकी थिइन्।

जाहेरीका आधारमा पक्राउ परेका हुस्नैनविरुद्ध ठगी कसुरमा जिल्ला अदालत गौरबाट म्याद लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकरप्रसाद आचार्यले बताउनुभयो। यसै घटनामा गरुडा–९ का वर्तमान वडाध्यक्ष राजेश सहनीविरुद्ध पनि थुनुवा छुटाइदिने भन्दै रकम असुलेको आरोपमा जाहेरी परेको छ। सहनीले भने आफूले कसैसँग रकम नलिएको भन्दै आरोप अस्वीकार गरेका छन्। घटनामा अन्य व्यक्तिको संलग्नताबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?