विश्व पर्यटन दिवसलाई मधेशको पर्यटन प्रवर्द्धन अभियानका रूपमा अघि बढाउने तयारी

1 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भाद्र २८ गते ।  नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ, मधेश प्रदेशले विश्व पर्यटन दिवस २०८३ लाई प्रदेशव्यापी रूपमा प्रभावकारी र भव्य ढंगले मनाउने तयारी थालेको छ। दिवसका अवसरमा सञ्चालन गरिने कार्यक्रमलाई व्यवस्थित, परिणाममुखी तथा मधेश प्रदेशको पर्यटन प्रवर्द्धनसँग जोड्ने उद्देश्यले महासंघले विशेष छलफल तथा बैठक सम्पन्न गरेको हो।

महासंघका अध्यक्ष हिरा गौतमको अध्यक्षतामा सम्पन्न बैठकमा उद्योग तथा पर्यटन मन्त्रालय, मधेश प्रदेशका सचिव जयकुमार घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा महासंघका संरक्षक तथा सल्लाहकार विजय झुनझुनवालासहित होटल संघ नेपाल (हान), मधेश प्रदेशका महासचिव दिपेन्द्र पराजुली, नाट्टा मधेश प्रदेशका महासचिव सुदर्शन काफ्ले, मधेश प्रदेश सरकारका विभिन्न मन्त्रालयका शाखा अधिकृत, महासंघका पदाधिकारी तथा सदस्य, प्रदेशका आठवटै जिल्लाका जिल्ला अध्यक्ष तथा प्रतिनिधि र होटल तथा पर्यटन व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

बैठकमा मधेश प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयबाट प्राप्त हुने आर्थिक सहयोगलाई प्रभावकारी, पारदर्शी र प्रचलित नियमअनुसार परिचालन गर्ने विषयमा विस्तृत छलफल भएको थियो। उपलब्ध बजेटलाई पर्यटन प्रवर्द्धन, गन्तव्य विकास, प्रचारप्रसार तथा विश्व पर्यटन दिवससँग सम्बन्धित कार्यक्रमहरूमा प्राथमिकताका आधारमा उपयोग गर्ने विषयमा सहभागीहरूले धारणा राखेका थिए।

त्यस्तै, विश्व पर्यटन दिवसका अवसरमा आयोजना हुने कार्यक्रमलाई केवल औपचारिकतामा सीमित नगरी प्रदेशको पर्यटन क्षेत्रलाई दीर्घकालीन रूपमा लाभ पुग्ने गरी सञ्चालन गर्ने विषयमा जोड दिइएको थियो। कार्यक्रमको प्रभावकारिता बढाउन सरकारी निकाय, महासंघ, होटल संघ नेपाल, नाट्टा, जिल्ला तहका पर्यटन व्यवसायी तथा निजी क्षेत्रबीच आवश्यक समन्वय र सहकार्यलाई थप मजबुत बनाउने विषयमा समेत छलफल भएको थियो।

बैठकले विश्व पर्यटन दिवस २०८३ लाई मधेश प्रदेशको पर्यटन ब्रान्डिङ तथा पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्ने निष्कर्ष निकालेको छ। विशेषगरी जनकपुरधामलाई ‘जनकपुर–मिथिला नगरी’का रूपमा धार्मिक, सांस्कृतिक तथा विवाह पर्यटनको आकर्षक गन्तव्यका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने अवधारणालाई प्राथमिकतामा राखिएको छ।

जनकपुरधामको जानकी मन्दिर, मिथिला संस्कृति, धार्मिक तथा ऐतिहासिक सम्पदा, परम्परागत कला, स्थानीय परिकार र मौलिक आतिथ्य संस्कृतिलाई पर्यटन बजारसँग जोडेर प्रचारप्रसार गर्ने विषयमा पनि बैठकमा महत्वपूर्ण छलफल भएको थियो। साथै मधेश प्रदेशका विभिन्न जिल्लामा रहेका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यलाई एउटै पर्यटन अभियानअन्तर्गत जोडेर प्रवर्द्धन गर्ने अवधारणामा समेत सहभागीहरूबीच छलफल भएको छ।

मधेश प्रदेशमा पर्यटनको सम्भावना व्यापक रहे पनि त्यसलाई व्यवस्थित रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सरकारी र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको सहभागीहरूको धारणा थियो। त्यसका लागि पर्यटन व्यवसायी, होटल व्यवसायी, पर्यटन प्रवर्द्धनसँग सम्बन्धित संस्था तथा स्थानीय तहलाई समेत अभियानमा जोड्ने विषयमा जोड दिइएको थियो।

बैठकबाट सरकार, महासंघ, होटल संघ नेपाल, नाट्टा, जिल्ला तह र निजी क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउँदै विश्व पर्यटन दिवस २०८३ लाई मधेश प्रदेशको पर्यटन विकास र प्रवर्द्धनको साझा अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ। कार्यक्रममार्फत ‘मधेशमा स्वागत छ’ भन्ने सकारात्मक सन्देश प्रवाह गर्दै प्रदेशका पर्यटकीय गन्तव्य, कला–संस्कृति, खानपान र आतिथ्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकमाझ पुर्‍याउने लक्ष्य राखिएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?