चौरचन पर्वको रौनक, जनकपुरधामका बजारमा किनमेल गर्नेको भीड
2 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, भाद्र २९ गते । जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक बढेको छ। मिथिलाको प्रमुख पर्वका रूपमा मनाइने चौरचनका लागि व्रती तथा परिवारका सदस्य तयारीमा जुटेका छन् भने फलफूल, मिठाई तथा पूजाका सामग्री खरिद गर्नेको बजारमा बिहानैदेखि भीड लागेको छ। माटाका भाँडावर्तन अधिकांशले केही दिनअघि नै किनिसके पनि फलफूल तथा अन्य पूजाका सामग्री खरिदका लागि बजारमा चहलपहल बढेको हो। भदौ शुक्लपक्ष चौथीका दिन मनाइने यस पर्वमा व्रत बसेर चन्द्रमाको पूजा गर्ने परम्परा छ।
चौरचनका दिन घरको आँगनमा चामलको पिठोबाट कलात्मक अरिपन बनाई त्यसमा पूजाका सामग्री राखेर विधिपूर्वक पूजा गरिन्छ। नयाँ माटाका भाँडामा दही, केरा, विभिन्न फलफूल, मिठाई तथा पिरकिया, खजुरी, पुरी, खिरलगायत पकवान राख्ने चलन छ। चन्द्रमालाई खाली हात दर्शन गर्न नहुने धार्मिक मान्यताअनुसार फलफूल तथा घरमै बनाइएका पकवान हातमा लिएर चन्द्रदेवको दर्शन गर्ने परम्परा रहेको छ। मिथिलाको यो पर्वले मैथिल कला, संस्कृति र परम्परालाई समेत उजागर गर्ने गर्दछ।
कमेन्ट गर्नुहोस्
view comments