भारी वर्षाको जोखिममा असोज ८ र ९ गते विद्यालय बिदा गर्न शिक्षा मन्त्रालयको आग्रह
2 घन्टा पहिले प्रकाशित
काठमाडौं, असोज ८ गते । भारीदेखि अति भारी वर्षा, हिमपात, हावाहुरी र चट्याङको सम्भावनालाई ध्यानमा राख्दै शिक्षा तथा खेलकुद मन्त्रालयले असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालय बिदा गर्न आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानअनुसार असोज ९ देखि ११ गतेसम्म विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। सम्भावित बाढी, पहिरो, डुबान, नदी कटान, हिमपहिरो तथा सडक, विद्युत् र सञ्चार सेवामा अवरोधको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले शैक्षिक संस्थालाई पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेको हो।
मन्त्रालयले विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई असोज ९ देखि ११ गतेसम्मका परीक्षा आवश्यकताअनुसार स्थगित गर्न आग्रह गरेको छ। त्यस्तै, सुरक्षित विद्यालय भवनलाई आवश्यक परेमा अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न स्थानीय तहलाई सहजीकरण गर्न तथा अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी र पहिरोको जोखिम भएका स्थानमा जान नदिन अनुरोध गरिएको छ। मौसम तथा विपद्को अवस्थाअनुसार स्थानीय तह र सम्बन्धित निकायले आवश्यक निर्णय लिन मन्त्रालयले आग्रह गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments