१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणमा दीर्घायु श्रेष्ठ

2 घन्टा पहिले प्रकाशित

काठमाडौं, असोज २ गते ।  मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले भारत, चीन, संयुक्त राज्य अमेरिकासहित १३ देशका लागि नेपाली राजदूत नियुक्त गर्न नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि संघीय संसद्समक्ष पठाउने निर्णय गरेको छ। भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा, जर्मनीका लागि शरू जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिग्यानकुमार थापा, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारको नाम सिफारिस गरिएको हो।

बैठकले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्नुका साथै नेपाल मौसम विज्ञान विभागलाई कृषि, वन तथा पर्यावरण मन्त्रालयबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहने गरी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ संशोधन गर्ने निर्णय गरेको छ। यस्तै, नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने र सहसचिव रुद्रसिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय पनि भएको छ। नेपाल विद्युत् प्राधिकरणले श्रेष्ठलाई हाल कार्यकारी निर्देशकका रूपमा उल्लेख गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?