सरुवा भएका कर्मचारीलाई समयमै रमाना दिन मन्त्रालयको निर्देशन
2 घन्टा पहिले प्रकाशित
काठमाडौं, भाद्र ३१ गते ।भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै मन्त्रालय, आयोग, सचिवालय, सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई निर्देशन दिएको छ। सरुवा भइसकेपछि पनि विभिन्न बहानामा कर्मचारीलाई पुरानै कार्यालयमा राखेर काम गराउने र त्यहीँबाट तलबभत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि मन्त्रालयले यस्तो परिपत्र गरेको हो।
मन्त्रालयका अनुसार निजामती सेवा नियमावलीले तोकेको अवधिभित्र रमाना नदिई पुरानै कार्यालयबाट तलबभत्ता भुक्तानी गरिएमा तोकिएको म्यादभन्दा बढी अवधिको रकम सम्बन्धित कार्यालय प्रमुख र लेखा प्रमुखबाट असुलउपर गरिनेछ। सरुवा भएका कर्मचारीलाई समयमै नयाँ कार्यालयमा नपठाउँदा विशेषगरी स्थानीय तहमा जनशक्ति अभाव भई सेवा प्रवाह प्रभावित भएको मन्त्रालयले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments