३० वर्ष सेवा र ५५ वर्ष उमेर कटेका कर्मचारीलाई बिदाइ गर्ने सरकारको तयारी

2 घन्टा पहिले प्रकाशित

काठमाडौं, भाद्र २९ गते । सरकारले निजामती सेवामा ३० वर्ष सेवा पूरा गरेका तथा ५५ वर्ष उमेर कटेका कर्मचारीलाई एकपटकका लागि बिदाइ गर्ने व्यवस्था प्रस्ताव गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामती सेवा विधेयकको मस्यौदा अहिले लोकसेवा आयोगको रायका लागि पठाइएको छ। आयोगको राय प्राप्त भएपछि विधेयक मन्त्रिपरिषद्मा पेस गर्ने तयारी मन्त्रालयले गरेको छ।

मन्त्रालयका अनुसार प्रस्तावित व्यवस्था कार्यान्वयन भए करिब १० हजार कर्मचारी निजामती सेवाबाट बाहिरिने अनुमान छ। उनीहरूलाई बिदाइ गर्दा आर्थिक प्याकेज उपलब्ध गराउने तयारी भए पनि त्यसको स्वरूप भने टुंगिएको छैन। हाल प्रचलित व्यवस्थाअनुसार निजामती कर्मचारीको अवकाश उमेर ५८ वर्ष रहेको छ। विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएर संसदका दुवै सदनबाट पारित तथा राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र कानुनी रूपमा लागू हुनेछ। एकैपटक ठूलो संख्यामा कर्मचारी अवकाशमा पठाउँदा अनुभवी जनशक्ति बाहिरिने र नयाँ जनशक्ति प्रवेशमा असर पर्ने विषयमा समेत यसअघि बहस हुँदै आएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?