एनपीएल: जनकपुरलाई जितको दबाब, काठमाडौंलाई सुरुवातको चुनौती
9 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, कार्तिक १२ गते । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे सुरु हुने खेलमा जनकपुर पहिलो जितको लक्ष्यसहित मैदान उत्रनेछ। पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरलाई यसपटक ब्याटिङमा सुधार गर्दै जित निकाल्ने चुनौती छ। कप्तान हर्मीत सिंहसहित मोइन अली, जिमी निसम र कुशल परेराजस्ता अनुभवी खेलाडी रहेको जनकपुरले पहिलो खेलमा देखिएको कमजोरी सुधार्ने अपेक्षा गरिएको छ।
यता, काठमाडौं गोर्खाज भने यस सिजनको पहिलो खेल जित्दै सुखद सुरुवात गर्न चाहन्छ। अस्ट्रेलियाका चर्चित ब्याटर डेभिड वार्नर नेपाल नआइसकेकाले काठमाडौंले उपलब्ध खेलाडीबाटै टोलीको संयोजन मिलाउनुपर्नेछ। दुवै टोलीबीच अघिल्ला दुई संस्करणमा एक–एक जितको नतिजा रहेकाले यसपटकको प्रतिस्पर्धा पनि रोचक हुने अपेक्षा छ। जनकपुरका कप्तान हर्मीत सिंह र स्पिनर ललित राजवंशी तथा काठमाडौंका करण केसी र स्मित पटेलको प्रदर्शन खेलको नतिजामा प्रभाव पार्न सक्नेछ। मौसममा बदली र वर्षाको सम्भावना रहेकाले खेल सञ्चालनमा मौसमले पनि भूमिका खेल्न सक्छ।
कमेन्ट गर्नुहोस्
view comments