ट्याक्टर–मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु, श्रीमती गम्भीर

1 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक १३ गते । रौतहटको फतुवा विजयपुर नगरपालिका–११ स्थित राङ्गी टोलमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन्। बिहीबार साँझ करिब ६ः३० बजे दुधिअवा–बालचनपुर सडकखण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। दुधिअवाबाट बालचनपुरतर्फ जाँदै गरेको ना २ त ४७८६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक गुजरा नगरपालिका–४ पोखरभिन्डाका ३५ वर्षीय प्रहरी जवान सुभाष चौधरी र पछाडि सवार उनकी ३० वर्षीया श्रीमती प्रहरी जवान निशा खड्का घाइते भएका थिए। दुवैलाई उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल पुर्‍याइएकोमा उपचारकै क्रममा बिहीबार राति ८ः१० बजे चिकित्सकले सुभाषलाई मृत घोषणा गरेका थिए। निशाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बारा जिल्लाको इलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत चौधरीको मृत्यु भएको घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी वसन्त गौतमले जानकारी दिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?