जनकपुर–अयोध्या रेल सेवाको तयारी अन्तिम चरणमा, प्रधानमन्त्रीस्तरबाट उद्घाटनको तयारी

1 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक १३ गते । जनकपुरधाम र भारतको अयोध्यालाई प्रत्यक्ष रेल सेवामार्फत जोड्ने तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको आगामी भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले बताएका छन्। उनका अनुसार रेल सेवा सञ्चालनका लागि दुवै देशका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको छ। उद्घाटनको मिति भने औपचारिक रूपमा तय भइसकेको छैन। प्रधानमन्त्री शाह मङ्सिर ६ गतेदेखि भारत भ्रमणमा जाने तयारीमा छन्।

रामायण सर्किटअन्तर्गत सञ्चालन गर्न लागिएको उक्त सेवाका लागि रेलमार्ग, सुरक्षा, भन्सार र अध्यागमन व्यवस्थापनबारे आवश्यक तयारी भइरहेको छ। नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु तथा रेलको सुरक्षाको जिम्मेवारी लिने विषयमा सैद्धान्तिक सहमति भएको छ। केही दिनअघि दुवै देशका रेल्वे, सुरक्षा, भन्सार र अध्यागमन अधिकारीले जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षणसमेत गरेका थिए। जनकपुरधामलाई अयोध्यासँग जोड्ने रेल सेवा सञ्चालनमा आए धार्मिक पर्यटन, सांस्कृतिक सम्बन्ध र स्थानीय आर्थिक गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?