प्रधानन्यायाधीशको सुनुवाइ प्रक्रिया ढिलाइ नगर्न रास्वपाको माग

2 महीना पहिले प्रकाशित

काठमाडौं, जेठ ५ गते ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रस्तावित प्रधानन्यायाधीश डा। मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रियालाई थप विलम्ब नगरी वस्तुनिष्ठ र द्रुत गतिमा अघि बढाउन माग गरेका छन् । मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरू डा। लेखजंग थापा र राजीव खत्रीले सुनुवाइ प्रक्रियालाई प्रभावकारी बनाउन विभिन्न सुझाव प्रस्तुत गरेका हुन् । बुर्लाकोटीले कार्यतालिकाअनुसार उजुरीकर्तासँग छलफल र प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना सुन्ने कार्यलाई तीव्रता दिनुपर्ने बताए ।

उनले उजुरीकर्तालाई पालैपालो बोलाएर छलफल गर्नुपर्ने तथा प्राप्त उजुरीमध्ये कतिपयमा गम्भीर त्रुटि रहेको भन्दै ती विषयमा स्पष्ट छलफल हुनुपर्ने धारणा राखे । सुनुवाइको नतिजा पहिले नै तय भएको जस्तो टिप्पणी गर्नु उचित नभएको उल्लेख गर्दै उनले वस्तुनिष्ठ छलफलका आधारमा मात्र निष्कर्षमा पुग्नुपर्ने बताए । छलफलका क्रममा गम्भीर विषय देखिए सिफारिस गर्ने निकायसम्म पुगेर थप समन्वय गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन समितिलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?