चिकित्सकमाथि कुटपिट आरोपमा दुई जना पक्राउ
8 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असोज ५ गते । प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत चिकित्सक सरोज साहमाथि हातपात तथा कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका–२ का २० वर्षीय विजय मुखिया र जनकपुरधाम उपमहानगरपालिका–८ की २६ वर्षीया सुधिरा मुखिया बिन छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दुवै जनालाई जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ।
प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार उनीहरूमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को दफा ३(ग) अन्तर्गत अनुसन्धान भइरहेको छ। उक्त कसुरमा तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने प्रहरीले जनाएको छ। गत बिहीबार प्रसूति सेवाका लागि अस्पताल पुगेकी महिलाका आफन्तले शल्यक्रियामा लापरबाही भएको आरोप लगाउँदै ड्युटीमा रहेका चिकित्सक साहमाथि कुटपिट गरेका थिए। घटनापछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए भने प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको खोजी गरिरहेको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments