जानकी मन्दिर संरक्षित स्मारक क्षेत्र घोषणा, चार किल्ला तोकियो

4 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असोज २ गते ।  सरकारले जनकपुरधामस्थित जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार प्राचीन स्मारक संरक्षण ऐन, २०१३ बमोजिम मन्दिर आसपासको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरिएको हो। मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाका अनुसार चार किल्ला निर्धारण गरी राजपत्रमा सूचना प्रकाशित गरिएको छ।

तोकिएको सीमाअनुसार पूर्वतर्फ भानु चोक, कदम चोक, जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय हुँदै दक्षिणतर्फ गएको परिक्रमा पथ, पश्चिमतर्फ भमरपुरा चोक हुँदै याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, ज्ञानकुप र हनुमान मन्दिर हुँदै उत्तरतर्फको परिक्रमा पथ, उत्तरतर्फ हनुमान मन्दिर, पिडारी चोक, मधेस प्रदेश भवन, मिल्स एरिया हुँदै भानु चोकसम्मको सडक तथा दक्षिणतर्फ मुरली चोक हुँदै भमरापुरा चोकसम्मको क्षेत्र समेटिएको छ। मन्त्रालयका अनुसार संरक्षित क्षेत्रमा अब भवन निर्माणलगायतका गतिविधिमा तोकिएका मापदण्ड लागू हुनेछन्। जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने नेपालको लक्ष्यअनुसार संरक्षित स्मारक क्षेत्र घोषणा गरिएको मन्त्रालयले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?