मधेशमा अख्तियारका उजुरी सबैभन्दा बढी, स्थानीय तहविरुद्ध ७ हजार ३७० उजुरी

2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असोज २ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा दर्ता तथा कायम भएका उजुरीमध्ये मधेश प्रदेशसँग सम्बन्धित उजुरीको सङ्ख्या सबैभन्दा बढी देखिएको छ। आयोगका अनुसार प्रदेश सरकारसँग सम्बन्धित देशभरका पाँच हजार ३०५ उजुरीमध्ये मधेश प्रदेशका मात्रै एक हजार ४७५ छन्, जुन कुलको २७.८ प्रतिशत हो। मधेशमा प्रदेश सरकारसँग सम्बन्धित उजुरीमध्ये भौतिक पूर्वाधार तथा यातायात क्षेत्रका उजुरी बढी रहेको आयोगले जनाएको छ। स्थानीय तहविरुद्ध परेका उजुरीमा पनि मधेश पहिलो स्थानमा छ। देशभरका स्थानीय तहसँग सम्बन्धित २० हजार २५ उजुरीमध्ये मधेशका स्थानीय तहविरुद्ध सात हजार ३७० उजुरी परेका छन्, जुन ३६.८० प्रतिशत हो।

आयोगको तथ्याङ्कअनुसार स्थानीय तहविरुद्ध सबैभन्दा बढी उजुरी परेका शीर्ष १० स्थानीय तहमध्ये आठवटा मधेश प्रदेशका छन्। धनुषाको विदेह नगरपालिका, पर्साको छिपहरमाई गाउँपालिका, जनकपुरधाम उपमहानगरपालिका, सिरहा नगरपालिका, बाराको जितपुरसिमरा उपमहानगरपालिका, सुवर्ण गाउँपालिका, वीरगन्ज महानगरपालिका र पचरौता नगरपालिका तीमध्ये छन्। यद्यपि, उजुरीको सङ्ख्याले मात्रै अनियमितता वा भ्रष्टाचार प्रमाणित नगर्ने र त्यसका लागि आयोगको अनुसन्धान तथा कानुनी प्रक्रिया आवश्यक हुने जनाइएको छ। आर्थिक वर्ष २०८२/८३ मा देशभर ४० हजार ८४२ उजुरी कायम भएकामा ३२ हजार ८२३ अर्थात् ८०.३७ प्रतिशत फर्छ्योट भएका छन् भने आठ हजार १९ उजुरी चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेका छन्। सो अवधिमा भ्रष्टाचारसम्बन्धी १७५ मुद्दा विशेष अदालतमा दायर गरी ९९० जनालाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?