आज जनकपुरधाम सहित देशभर धुमधामका साथ विश्वकर्मा पूजा मनाइँदै
4 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असोज १ गते । शिल्प, वास्तुकला, निर्माण तथा प्राविधिक क्षेत्रसँग जोडिएका श्रमिक र कालिगढले बिहीबार भगवान् विश्वकर्माको पूजा आराधना गर्दै विश्वकर्मा पर्व तथा वास्तु दिवस मनाइरहेका छन्। आश्विन सङ्क्रान्तिका अवसरमा जनकपुरधामसहित देशभरका कलकारखाना, उद्योग, निर्माणस्थल तथा सञ्चारमाध्यममा विश्वकर्माको तस्बिर वा मूर्ति स्थापना गरी पूजा गरिएको छ। जनकपुरधामका रेडियो, एफएम तथा टेलिभिजनमा कार्यरत प्राविधिक, सञ्चारकर्मी र कर्मचारीले क्यामेरा, मिक्सर, माइक्रोफोन, कम्प्युटर, प्रसारण उपकरण, मेसिन तथा सवारीसाधनको पूजा गरेका छन्। विश्वकर्मा पूजाका कारण सञ्चारमाध्यमका कार्यालयमा विशेष चहलपहल देखिएको छ।
धार्मिक मान्यताअनुसार विश्वकर्मालाई शिल्प तथा वास्तुकलाका विशिष्ट ज्ञाताका रूपमा पूजा गरिन्छ। विश्वकर्माको पूजा गर्दा आफूले प्रयोग गर्ने औजार, मेसिन तथा उपकरण लामो समयसम्म टिक्ने, कम बिग्रने र काममा सहजता आउने विश्वास छ। यही विश्वासका कारण मेकानिक, चालक, प्राविधिक, कालिगढ तथा उद्योगमा कार्यरत श्रमिकले दैनिक प्रयोग गर्ने साधनको पूजा गर्ने गर्छन्। विश्वकर्मा पूजाले सीप, दक्षता र सिर्जनात्मक कर्मप्रति सम्मान व्यक्त गर्ने अवसरसमेत प्रदान गर्ने जनविश्वास छ। पूजा गरिएका माटो तथा बालुवाका मूर्ति पछि जलाशयमा विसर्जन गर्ने परम्परा पनि रहेको छ।
कमेन्ट गर्नुहोस्
view comments