विशेष अदालतबाट वीरगञ्जका नगरप्रमुख राजेशमान सिंहले पाए सफाइ

19 मिनट पहिले प्रकाशित

जनकपुरधाम, भाद्र ३० गते । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किर्ते कागजातका आधारमा जन्मदर्ता र नागरिकता बनाएको आरोपमा गत जेठ २५ गते मुद्दा दायर गरेपछि सिंह स्वतः निलम्बनमा परेका थिए। विशेष अदालतका न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार सिंहसहित मुद्दाका सबै प्रतिवादीलाई सफाइ दिने फैसला गरेको हो।

अख्तियारले सिंहसहित वीरगञ्ज महानगरपालिका–३ का तत्कालीन वडासचिव, कार्यवाहक वडाध्यक्ष, तत्कालीन प्रशासकीय अधिकृत तथा नागरिकता लिने युवती र उनकी आमालाई प्रतिवादी बनाएको थियो। अख्तियारले अर्काकी छोरीलाई आफ्नी छोरीका रूपमा देखाएर जन्मदर्ता र नागरिकता बनाएको तथा छानबिनलाई प्रभावित पारेको आरोप लगाएको थियो। सफाइ पाएसँगै सिंहको निलम्बन फुकुवा हुने र पदबहालीको प्रक्रिया अघि बढ्ने जनाइएको छ। यसअघि सिंहविरुद्ध पर्सा जिल्ला अदालतमा विचाराधीन दुई कसुरसम्बन्धी मुद्दामा भने उनी धरौटीमा छुटेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?