राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका महासचिवसहित ९ जनाले दिए सामूहिक राजीनामा

5 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असोज २ गते ।  राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिवसहित नौ जना केन्द्रीय पदाधिकारी तथा सदस्यले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्। उनीहरूले काठमाडौंको शान्तिनगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा राजीनामा पत्र बुझाउँदै आजकै मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्। सामूहिक राजीनामा दिनेमा पार्टीका महासचिव केशवकुमार झासहित केन्द्रीय सदस्यहरू चन्द्रानन्द मिश्र, पंकजकुमार देव, हिरालाल मण्डल, अनुपम झा, रिषिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राजु रहेका छन्।

राजीनामा पत्रमा उनीहरूले तत्कालै लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको उल्लेख गरेका छन्। उनीहरूले पार्टी नेतृत्व तथा अध्यक्ष राजेन्द्र महतोको आगामी राजनीतिक यात्राका लागि शुभकामनासमेत व्यक्त गरेका छन्। महासचिवसहित महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरूले एकैपटक राजीनामा दिएपछि राष्ट्रिय मुक्ति पार्टी नेपालभित्रको पछिल्लो अवस्थाबारे राजनीतिक वृत्तमा चासो बढेको छ। यद्यपि, सामूहिक राजीनामाको विस्तृत कारण भने उनीहरूले सार्वजनिक गरेको पत्रमा उल्लेख गरेका छैनन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?