चिकित्सकमाथि हुने कुटपिटले स्वास्थ्य सेवा प्रभावित हुन्छ : डा. जामुन सिंह
5 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असोज २ गते । जनकपुर अस्पतालका निर्देशक डा. जामुन सिंहले अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने कुटपिटका घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्। अस्पताल परिसरमा भएको कुटपिटको घटनामा पाँच जना संलग्न रहेको भिडियोमा स्पष्ट देखिए पनि दुई जनालाई मात्रै पक्राउ गरिएको भन्दै उनले प्रश्न उठाएका छन्। अस्पतालको सुरक्षा टोली र प्रहरीसमेत घटनाबारे जानकार रहेको उल्लेख गर्दै उनले भिडियोमा देखिएका सबैलाई पहिचान गरी कारबाही गर्नुपर्ने बताए। कानुन कार्यान्वयनमा राजनीतिक वा अन्य दबाबका कारण फितलोपन आउन नहुने उनको भनाइ छ। “कानुन बनाउनु र त्यसको कार्यान्वयन गर्नु फरक कुरा हो। कानुनको कमीभन्दा पनि कार्यान्वयन नहुनु अहिलेको प्रमुख समस्या हो,” उनले भने।
डा. सिंहले अस्पतालमा जनशक्ति अभावका बीच स्वास्थ्यकर्मीले सेवा दिइरहेको भन्दै चिकित्सक तथा नर्समाथि हुने आक्रमणले सेवा प्रवाहमा प्रत्यक्ष असर पार्ने बताए। सरकारले अस्पतालको क्षमताअनुसार नर्सिङ जनशक्तिको मापदण्ड तोके पनि जनकपुर अस्पतालमा आवश्यक दरबन्दी नरहेको उनको भनाइ छ। उनका अनुसार करिब ३५० शय्याको अस्पताल सञ्चालनका लागि ठूलो संख्यामा चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी आवश्यक भए पनि हाल नर्सको दरबन्दी निकै कम छ। आईसीयू, भेन्टिलेटर, प्रसूति तथा अन्य संवेदनशील सेवाका लागि तोकिएको मापदण्डअनुसार जनशक्ति व्यवस्थापन हुनुपर्ने उनले बताए। स्वास्थ्य क्षेत्रको जनशक्ति तथा सुरक्षा समस्या समाधानका लागि स्वास्थ्य, अर्थ, गृह तथा सम्बन्धित प्रशासनिक निकायबीच बृहत् छलफल आवश्यक रहेको उल्लेख गर्दै उनले चिकित्सकलाई मात्र सुरक्षा दिएर समस्या समाधान नहुने बताए।
कमेन्ट गर्नुहोस्
view comments