मलेसियाको २५ म्यानपावर कम्पनी छनोट विवादमा सरकारी छानबिन
3 घन्टा पहिले प्रकाशित
काठमाडौं, भाद्र २८ गते । नेपाली श्रमिक लिन मलेसियाले सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न विवादबारे सरकारले छानबिन थालेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार विभागलाई ती २५ मुख्य म्यानपावर कम्पनी र उनीहरूसँग जोडिएका सहायक कम्पनीको विगतको कारोबार, श्रमिक पठाउने प्रक्रिया तथा मलेसियाको सूचीमा छनोट भएको आधारबारे अध्ययन गर्न निर्देशन दिएको हो। मलेसियाको प्रणालीमा २५ मुख्य कम्पनीसँग करिब २५० नेपाली म्यानपावर कम्पनी सहायक संस्थाका रूपमा जोडिएको विषय पनि विवादमा परेको छ।
नेपाल सरकारले सबै इजाजतप्राप्त म्यानपावर कम्पनीलाई समान अवसर दिनुपर्ने भन्दै मलेसियासँग पुरानै प्रणालीअनुसार श्रमिक भर्ना प्रक्रिया अघि बढाउन आग्रह गरेको छ। नयाँ व्यवस्थाका कारण मलेसिया जाने श्रमिकको मागपत्र प्रमाणीकरण र पूर्वस्वीकृति प्रक्रिया प्रभावित भएको छ। मन्त्रालयकी प्रवक्ता मीरा आचार्यका अनुसार समस्या समाधानका लागि द्विपक्षीय संयन्त्र र संयुक्त प्राविधिक समितिमार्फत मलेसियासँग कूटनीतिक संवाद भइरहेको छ। मलेसियामा करिब चार लाख नेपाली कार्यरत रहेकाले सीमित कम्पनी छनोटको विवादले नयाँ श्रमिकको रोजगारीमा समेत असर पार्ने जोखिम देखिएको छ।
कमेन्ट गर्नुहोस्
view comments