भन्सारले सामान नियन्त्रणमा लिएपछि महेन्द्रनगरमा बजार बन्द

5 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असोज ७ गते ।  जनकपुर भन्सार कार्यालयले व्यापारीको गोदाममा छापा मारेर सामान नियन्त्रणमा लिएको विरोधमा छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका व्यापारीले बुधबार बजार बन्द गरी प्रदर्शन गरेका छन्। छिरेश्वरनाथ उद्योग वाणिज्य सङ्घको अगुवाइमा भएको प्रदर्शनमा व्यापारीले वैध रूपमा खरिद गरिएका सामानको बिलबिजक हुँदाहुँदै गोदामको ताला तोडेर सामान लगिएको भन्दै विरोध जनाएका हुन्। सङ्घका अध्यक्ष सुरेश यादवले सामानको स्रोत र वैधताबारे आवश्यक अध्ययन गरेर मात्र कारबाही अघि बढाउन माग गरे।

आइतबार जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले शिवशङ्कर साहको शङ्कर शम्भु जनरल स्टोरको गोदामबाट खर्बुजाको बीउ, बदाम, पार्ले चकलेटलगायतका सामान नियन्त्रणमा लिएको थियो। साहले करिब ७५ देखि ८० लाख रुपैयाँ बराबरको सामान लगिएको र सबै सामान वैध रूपमा खरिद गरिएको दाबी गरेका छन्। भने जनकपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मानबहादुर पौडेलले भारतबाट तस्करी गरी ल्याइएको खुलेपछि कारबाही गरिएको र १६ लाख ९६ हजार रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?