भारी वर्षाको जोखिममा उडान सुरक्षामा सम्झौता नगर्न वायुसेवा कम्पनीलाई निर्देशन
4 घन्टा पहिले प्रकाशित
काठमाडौं, असोज ७ गते । असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले वायुसेवा सञ्चालक संघले सदस्य वायुसेवा कम्पनीहरूलाई पूर्ण सुरक्षा सुनिश्चित गरेर मात्रै उडान सञ्चालन गर्न आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै संघले जारी गरेको परिपत्रमा गण्डकी र लुम्बिनी प्रदेशका साथै अन्य क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेकाले उडान सञ्चालन गर्दा मौसमको अवस्थालाई विशेष ध्यान दिन भनिएको छ।
संघका अध्यक्ष प्रतापजंग पाण्डेद्वारा जारी परिपत्रमा प्रतिकूल मौसमका बेला उडान सुरक्षामा कुनै सम्झौता नगर्न तथा सम्भावित बाढी, पहिरो र अन्य विपद्का घटनामा तत्काल खोज तथा उद्धारका लागि तयारी अवस्थामा रहन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिइएको छ। भारी वर्षाका कारण बाढी, पहिरो, डुबान र नदीमा जलसतह बढ्न सक्ने भएकाले हिमाली क्षेत्रमा हिमपातको जोखिमलाई समेत ध्यानमा राख्न भनिएको छ। मौसमको अध्यावधिक विवरण नियमित हेरी सोहीअनुसार उडान तालिका व्यवस्थापन गर्न संघले आग्रह गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments