स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा सजाय प्रस्ताव

4 घन्टा पहिले प्रकाशित

काठमाडौं, असोज ७ गते ।  स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण र हिंसात्मक घटना नियन्त्रण गर्न सरकारले कानुनी सजाय थप कडा बनाउने प्रस्तावसहित स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ संसद्मा दर्ता गरेको छ। प्रस्तावित व्यवस्थाअनुसार गम्भीर प्रकृतिका कसुरमा दोषी ठहर हुनेलाई २ देखि ५ वर्षसम्म कैद र २ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था राखिएको छ। यसअघि कैद वा जरिवानामध्ये कुनै एक सजाय हुन सक्ने व्यवस्थामा संशोधन गर्दै कैद र जरिवाना दुवै हुने प्रस्ताव गरिएको छ।

विधेयकमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामाथि हिंसा, हातपात, हतियारसहित आपराधिक बल प्रदर्शन तथा यस्ता कार्यका लागि उक्साउने वा दुरुत्साहन गर्नेलाई गम्भीर कसुरका रूपमा समेटिएको छ। कसुरको प्रकृतिअनुसार अन्य आपराधिक गतिविधिमा १ देखि ३ वर्षसम्म कैद तथा १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवानाको प्रस्ताव गरिएको छ। त्यस्तै, चिकित्सक तथा कर्मचारीसँगै इन्टर्न विद्यार्थीलाई समेत कानुनी सुरक्षाको दायरामा ल्याउने र स्वास्थ्यकर्मीको भौतिक, आर्थिक, मानसिक तथा मनोसामाजिक सुरक्षालाई समेट्ने व्यवस्था प्रस्ताव गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?