भारी वर्षाको सम्भावनामा प्रधानमन्त्री शाहद्वारा सतर्क रहन आग्रह

4 घन्टा पहिले प्रकाशित

काठमाडौं, असोज ७ गते ।  प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय र पूर्वसतर्कता अपनाउन आग्रह गरेका हुन्। मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार गण्डकी र लुम्बिनीका केही स्थानमा भारीदेखि अति भारी तथा कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रधानमन्त्री शाहले सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा अवरोध हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्। पानी परिरहेको र रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, नदी तथा खोलानजिक र बाढी–पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन तथा हिमाली क्षेत्रमा पदयात्राको योजना भए मौसम सुधार नभएसम्म स्थगित वा पुनर्विचार गर्न उनले अनुरोध गरेका छन्। साथै मौसम विज्ञान विभाग र स्थानीय प्रशासनबाट जारी हुने सूचना नियमित रूपमा हेरी आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न उनले आग्रह गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?