रौतहटमा ईभी र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
3 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असोज ८ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको धनसार–जङ्गलसहिया सडकखण्डमा ईभी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तियाका २० वर्षीय सन्देश यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिए। मोटरसाइकलमा पछाडि सवार कटहरिया नगरपालिका–८, बलुवा टोलका २० वर्षीय राजगीर यादव गम्भीर घाइते भएका छन्। बुधबार साँझ गुजरा नगरपालिका–३ स्थित धनसार गेटबाट करिब एक किलोमिटर दक्षिण कल्भर्ट नजिक निजगढतर्फबाट आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०५९५ नम्बरको ईभी र विपरीत दिशाबाट आउँदै गरेको बा ८५ प ४६२५ नम्बरको मोटरसाइकल आमनेसामने ठोक्किएका थिए।
दुर्घटनामा सन्देशको हात, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो भने राजगीरको दाहिने हात, दुवै खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। घटनालगत्तै इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर रादेसकुमार खत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। दुवै घाइतेलाई उद्धार गरी चन्द्रपुरस्थित शिविल अस्पताल पुर्याइएकोमा उपचारका क्रममा साँझ करिब ७ बजे सन्देशको मृत्यु भएको हो। सन्देशको मृत्यु भएपछि राजगीरलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments