धनुषामा १५औँ महाधिवेशनका लागि देउवा पक्षको तयारी तीव्र, संयोजकमा कोमलकान्त झा
38 मिनट पहिले प्रकाशित
जनकपुरधाम, असोज ९ गते । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभापति शेरबहादुर देउवा पक्षले संगठनात्मक गतिविधिलाई तीव्रता दिएको छ। देउवा पक्षले धनुषा जिल्लाको महाधिवेशन तयारीको जिम्मेवारी नेता कोमलकान्त झालाई दिएको छ। जिल्लामा महाधिवेशनसम्बन्धी तयारी तथा समन्वयका लागि झालाई जिम्मेवारी दिइएको हो।यसै क्रममा आज धनुषा जिल्लाभरिका देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको बैठक सम्पन्न भएको छ। बैठकको अध्यक्षता नेपाली कांग्रेस धनुषाका जिल्ला उपसभापति लक्ष्मीनारायण यादवले गर्नुभएको थियो।
बैठकमा पूर्वमाननीय स्मृतिनारायण चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा पूर्वमाननीय प्रमिला दास, पूर्व जिल्ला सभापति महेशशंकर गिरी, जिल्ला सचिव कन्हैया कर्ण, वरिष्ठ नेता गणेश तिवारी, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, प्रजातन्त्र सेनानी संघ मधेश प्रदेशका अध्यक्ष रामभरत साह, जिल्ला समन्वय समिति धनुषाकी उपसभापति संगिता ठाकुर, मुस्लिम संघ धनुषाका अध्यक्ष मो. इब्राहिम, क्षेत्रीय सभापति रामचन्द्र पजियारलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।त्यस्तै बैठकमा नेता सुरेश कोइराला, तरुण दल धनुषाका जिल्ला अध्यक्ष सञ्जय लाभ कर्ण, क्षेत्रीय सचिव हरि राउत, कमलकान्त झा लगायत विभिन्न तहका पदाधिकारी, नेता, युवा तथा महिला प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै वडा तहदेखि जिल्ला तहसम्म संगठनात्मक तयारी, नेता–कार्यकर्ताबीच समन्वय तथा अधिवेशनका लागि आवश्यक तयारीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएको छ। देउवा पक्षले प्रस्ताव गरेको कार्यतालिकाअनुसार आगामी असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तथा मंसिर २१, २२ र २३ गते १५औँ केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ।
धनुषामा पनि सोही कार्यतालिकालाई आधार बनाएर अधिवेशनको तयारी अघि बढाउने उद्देश्यले जिल्लास्तरीय नेताहरूबीच छलफल र समन्वयलाई निरन्तरता दिइने नेताहरूले बताएका छन्।
कमेन्ट गर्नुहोस्
view comments