अविरल वर्षाले विद्युत् सेवा अवरुद्ध र घरमा पानी पस्न थाल्यो

18 मिनट पहिले प्रकाशित

जनकपुरधाम, असोज ११ गते ।  शनिबार मध्यरातिदेखि परेको अविरल वर्षाका कारण सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न क्षेत्र जलमग्न भएका छन्। भारी वर्षाले मलङ्गवाका अधिकांश क्षेत्रमा पानी जमेको छ भने नेपाल विद्युत् प्राधिकरणको सवस्टेसन डुबानमा परेपछि सदरमुकामसहित दक्षिणी भेगका १० भन्दा बढी पालिकामा आइतबार बिहानदेखि विद्युत् सेवा अवरुद्ध भएको छ। जिल्लाको पूर्वी भेगमा पर्ने हरिपूर्वालगायतका क्षेत्रमा घरभित्र पानी पसेको स्थानीयले बताएका छन्। निरन्तर वर्षाका कारण बागमती, लखन्देहीलगायतका खोलामा पनि पानीको बहाव बढेको छ। लालबन्दी–१४ नारायणखोलाका शिक्षक कर्ण घिसिङका अनुसार आइतबार बिहानदेखि लखन्देही खोलामा बाढी बढिरहेको छ।

भारी वर्षाका कारण कच्ची घर भत्किन थालेका छन् भने चन्द्रनगर गाउँपालिका–१ किसनपुरमा रोहित पासवानको घर भत्किएको छ। गाउँपालिका अध्यक्ष राजकुमार महतोका अनुसार प्रभावित परिवारलाई तत्काल त्रिपालसहित राहत सामग्री उपलब्ध गराइएको छ। वर्षाले पाक्न लागेको धान, तरकारीलगायतका बालीमा समेत क्षति पुर्‍याएपछि किसान चिन्तित बनेका छन्। लालबन्दी–१५ रुन्चे बजारका किसान विवेक बम्जनले भारी वर्षाले पाक्न लागेको धानमा ठूलो क्षति पुगेको बताएका छन्। लगातार वर्षा भइरहेकाले बागमती नदीसहितका खोलामा पानीको सतह बढेर थप डुबान हुन सक्ने भन्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले उच्च सतर्कता अपनाइएको बताएका छन्। आइतबार मध्यान्हसम्म पनि वर्षा नरोकिएपछि अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन स्थानीयलाई आग्रह गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?