पहिरोले घर पुरिँदा धनुषामा एक महिलाको मृत्यु, चार जनाको उद्धार

25 मिनट पहिले प्रकाशित

जनकपुरधाम, असोज ११ गते । धनुषाको मिथिला नगरपालिका–११ आँपगाछीमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ भने घरभित्र रहेका अन्य चार जनाको सकुशल उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आइतबार बिहान करिब ९ः१५ बजे राजन श्रेष्ठको टालीको छानो भएको एकतले घर पहिरोले पुरिएको हो।

घर पुरिएको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय ढल्केवर र सिन्धुलीको इलाका प्रहरी कार्यालय भिमानबाट संयुक्त प्रहरी टोली घटनास्थल पुगेको थियो। घरमा रहेका पाँच जनामध्ये चार जनालाई सकुशल उद्धार गरिएको प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए। खोज तथा उद्धारका क्रममा बिहान करिब ११ बजे राजनकी श्रीमती ३५ वर्षीया कमला श्रेष्ठलाई घरभित्र मृत अवस्थामा फेला पारिएको थियो। उनको शव परीक्षणका लागि सरकारी अस्पताल बर्दिबास, महोत्तरी पठाइएको प्रहरीले जनाएको छ। मधेस प्रदेशमा पछिल्ला दुई दिनदेखि लगातार वर्षा भए पनि आइतबार दिउँसो १२ बजेपछि मौसममा केही सुधार आएको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?